काठमाण्डौं, कात्तिक ७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिनेमा हल परिसरमा राखिएका क्याफेले अबदेखि प्रशोधित बोतलको पानी र अन्य प्याकेजिङ गरेका खाने कुरामा अधिकतम खुद्रा मूल्य ( एमआरपी) भन्दा बढी मूल्य लिनेलाई कारवाही गर्ने भएको छ ।

विभागका महानिर्देशक राजन पोखरेलको नेतृत्वले नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग छलफल गर्दै सिनेमा हल परिसरमा बिक्री गर्न राखिएका वस्तुको एमआरपीभन्दा बढी मूल्य लिन नपाइने जानकारी गराएको छ । यदि त्यसरी बढी मूल्य लिएमा कानुन अनुसार कारवाही हुने चेतावनी पनि दिएको छ ।

सिनेमा हेर्न जानेलाई बाहिरबाट पानी र खानेकुरा लग्न नपाइने र भित्र किन्दा बाहिर पर्ने मूल्यभन्दा दोब्बर हुने गरेको गुनासोका आधारमा विभागले नेपाल चलचित्र सङ्घका पदाधिकारीसँग त्यसरी छलफल गरेको हो ।