काठमाण्डौं, असोज १६ । २०८१ साल असोज ११ र १२ गतेको अवरिल भारी वर्षाका कारण आएको बाढी, पहिरो तथा डुबानका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ । यसको विस्तृत विवरण यस्तो रहेको छ ।

१. हालैको बाढी पहिरोबाट २१ जिल्लाहरु प्रभावित भएका छन् । जसमध्ये काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ्, काठमाण्डौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर अति प्रभावित भएका छन् ।

२. यस घटनामा हालसम्म प्राप्त विवरण अनुसार २२४ जनाको मृत्यु, २४ जना बेपत्ता, १५८ जना घाइते भएका छन् । उच्च जोखिममा रहेका ४३३१ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पठाइसकिएको छ ।

३. भौतिक क्षतिको प्रारम्भिक आंकलन अनुसार हालसम्ममा खानेपानीका संरचनामा रु. ३ अर्व ५५ करोड, सडक संरचनामा रु. २ अर्व ५२ करोड, उर्जाका पूर्वाधारमा रु. ४ अर्व र सिंचाई पूर्वाधारतर्फ रु. १ अर्वको क्षति भएको अनुमान रहेको छ ।

४. यसैगरी ३७ वटा राजमार्ग अवरुद्ध भएकोमा ९ वटा राजमार्गको अवरोध हटाइ सञ्चालनमा ल्याइएको छ ।

५. सञ्चालनमा रहेका मध्ये कुल ६६७.९३ मेघावाट जडित विद्युत क्षमताको १६ वटा जलविद्युत आयोजनाहरु कुल ११३९.१९ मेघावाट जडित विद्युत क्षमताको १८ वटा निर्माणाधिन जलविद्युत आयोजनाहरु र ५ वटा प्रमुख प्रसारण टावरहरुमा क्षति भएको छ ।

६. नेपाल दुरसञ्चार कम्पनी लि.को ३२१ साइटमा क्षति भएको छ ।

७. कृषि तथा पशुपंछि तर्फ ६ अर्वको क्षति भएको अुनमान गरिएको छ ।

८. खोज तथा उद्दार कार्यमा ३० हजार ७ सय ३१ जना सुरक्षाकर्मी परिचालन गरिएको र तत्काल उद्दारका लागी हेलिकोप्टर समेत प्रयोग भएको छ ।

९. विपदको घटना पश्चात तत्काल सम्बद्ध निकायहरुलाई क्रियाशिल बनाउनका साथै बिभिन्न तहका बैठक बसी, सर्वदलीय बैठकसमेत गरी विपदमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन प्रयासहरु भएका छन् ।

नेपाल सरकारले आगामी दिनमा प्राथमिकतापूर्वक गर्ने कार्यहरु यस्ता रहेका छन् ।

१. बाढी पहिरो तथा डुवानका कारण मृत्यु एवं बेपत्ता भएका व्यक्तिका घरपरिवारलाई राहत रकम वितरण गर्ने कार्य प्रारम्भ भईसकेको छ । उक्त कार्यलाई यथासिघ्र सम्पन्न गरिने ।

२. विपद प्रभावित व्यक्तिहरुको खोज  उद्दारको कार्य २ दिनभित्र सम्पन्न गर्ने, उद्दार गरिएका र सुरक्षित स्थलमा राखिएका व्यक्तिहरुलाई सुरक्षित घर फिर्तिको व्यवस्था तत्काल सम्पन्न गर्ने , प्रभावित घरपरिवारलाई आवश्यकताका आधारमा राहत वितरण कार्यलाई एकद्धार प्रणालीबाट निरन्तरता दिने ।

३. विपदमा घरवास गुमाएका परिवारलाई अस्थायी आवास निर्माणको लागि लाभग्राही पहिचान गरी तत्कालै अनुदान रकम वितरण गरिनेछ ।

४. विपदमा परी घाइते भएका व्यक्तिहरुको नि:शुल्क उपचारको प्रबन्ध गरिएको,  विपदपश्चात फैलिन सक्ने सम्भावित रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक तयारी गरिएको, यसको लागि प्रदेश र स्थानिय तहसँगको सहकार्यमा प्रभावित क्षेत्रमा आवश्यकताअनुसार स्वास्थ्य सिविर सञ्चालन गर्ने तयारी गरिएको ।

५. बाढी पहिरोबाट अवरुद्ध तथा क्षतिग्रस्त खानेपानी संरचनाहरुको तत्काल मर्मत सम्भार गरी खानेपानी प्रणालीलाई पुनस्र्थापना गरिने ।

६. बाढी पहिरोबाट अवरुद्ध भएका मुलुकभरका रणनीतिक सडकहरुलाई थप तदारुकताका साथ यथासिघ्र सञ्चालन गरिने । यसका लागी पहिरोबाट अवरुद्ध सडक खोलने तथा पुल बगेका महत्वपूर्ण सडकमा बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यामबाट तत्काल यातायात सुचारु गर्ने प्रबन्ध गरिने ।

७. बिभिन्न स्थानमा अवरुद्ध भएको टेलिफोन एवं विद्युत सेवा सुचारु गर्न क्षतिग्रस्त संरचनाहरुको पुननिर्माण एवं पूनस्र्थापना गर्ने कार्य भइरहेको र उक्त कार्यलाई उच्च प्राथमिकताका साथ सम्पन्न गरिने ।

८. जलविद्युत उत्पादन अवरुद्ध भएका  विद्युत गृह पुनः सञ्चालन गर्ने कार्यलाई प्राथमिकता दिइने । सामान्य प्रकृतिको क्षतिको हकमा तत्काल मर्मतसम्भार गरी सञ्चालनमा ल्याईनेछ । क्षतिग्रस्त विद्युत प्रसारण लाइनका संरचनालाई इमर्जेन्सी रेस्टोरेशन टावर मार्फत प्रतिस्थापन गरिने ।

९. विपद पश्चात हुनसक्ने अत्यावश्यक वस्तुको कृतिम अभाव, मूल्यवृद्धि र कालोबजारी नियन्त्रण गर्न निजी क्षेत्रसमेतको समन्वयमा बजार अनुगमन र नियमनलाई प्रभावकारी बनाइने ।

१०. आसन्न चाडवाडको समयमा यात्रुहरुको यात्रालाई सहज र सुलभ  बनाउन निजी क्षेत्रका सम्बद्ध व्यवसायीहरुसँग समन्वय गरी सुरक्षित र भरपर्दो यातायात व्यवस्था मिलाउने ।

११. विपदबाट प्रभावित घरपरिवारलाई राहत उद्धार लगायतका विषयमा प्रद्श,स्थानिय एवं सम्बद्ध पक्षसँग आवश्यक समन्वय तथा सहजीकरण प्रभावकारी बनाउन सहसचिवहरुको नेतृत्वमा विपदबाट बढी प्रभावित जिल्लाहरुमा सम्बद्ध मन्त्रालयका कर्मचारी समावेश गरी स्थलगत टोली परिचालन गरिएको ।

१२. हालै मनसुनजन्य विपदबाट मानव बस्ती, पूर्वाधार, कृषिवाली तथा पशुपन्छीमा भएको क्षतिको प्रारम्भिक लेखाजोखा १ महिनाभित्र सम्पन्न गरी जनजीवनलाई सामान्य बनाउन प्रदेश तथा स्थानिय तहसँग समेत समन्वय गरी आवश्यक कार्य सम्पन्न गरिने ।

१३. विपदबाट भएको क्षतिको विस्तृत  मूल्यांकन गरी पूननिर्माण तथा पुनर्लाभका कार्यक्रमहरुको कार्ययोजना तत्काल तर्जुमा गरी तिन तहका सरकारको सम्न्वय र सहकार्यमा कार्यान्वयन गरिने ।

१४. विपदको पूर्वसूचना सरकारले बिभिन्न माध्यामबाट जारी गर्ने गरेको छ । उक्त  सूचनालाई  सबै पक्षबाट गम्भिरतापूर्वक लिई जनधनको क्षति न्यूनिकरण गर्नमा सहयोग पुर्याउन अनुरोध गर्ने ।