काठमाण्डौं, साउन १४  । लघुवित्त संस्थाले कर्जा प्रवाह गर्दा लिन पाउने सेवा शुल्कको सीमा घटाएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७९ लाई संशोधन गर्दै सेवा शुल्क घटाइएको हो ।

उक्त संशोधन अनुसार कर्जा प्रवाह गर्दा स्वीकृत कर्जा रकमबाट तोकिएको सेवा शुल्कबाहेक अन्य कुनै प्रकारको रकम कट्टा गरी बचतको रूपमा राख्न पाइने छैन, कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा १.३ प्रतिशतसम्म सेवा शुल्क लिन सक्नेछन् । एक वर्षभन्दा कम अवधिका लागि कर्जा प्रवाह गरेको अवस्थामा वार्षिक १.३ प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।

यसअघि, कर्जा प्रवाह गर्दा लघुवित्त संस्थाले स्वीकृत कर्जामा १.५ प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था थियो ।

बिनाधितो सामूहिक जमानीमा यसअघि एउटा लघुवित्त संस्थाबाट मात्र ऋण उपलब्ध हुने गरेकामा अब यस्तो कर्जा दुई वटा सम्म लघुवित्तबाट लिन पाइने भएको छ । “बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा यस व्यवस्था बमोजिमको कर्जा सीमा ननाघ्ने गरी एउटा ऋणीलाई अधिकतम दुईवटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन् ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणीले भने लघुवित्त वित्तीय संस्थाबाट ऋण लिन पाउने छैनन् ।