जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको तयारी
काठमाण्डौं, जेठ ८ । नेपाल सरकारले जलवायु परिवर्तनसम्बन्धी सम्मेलनको आयोजना गर्न लागेको छ । सो सम्मेलन नेपालको हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने स्थल चन्द्रागिरिमा जेठ ९ र १० गते चल्ने छ ।
उक्त सम्मेलनमा हिमाल, मानिस र जलवायु विषयक जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय विज्ञ संवादमा दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रका अध्यक्षसहित २३ देशका ६१ विदेशी विज्ञ तथा पाहुना सहभागी हुने भएका छन् ।
सरकारका तर्फबाट वन तथा वातावरण मन्त्रालयले काठमाण्डौंमा आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रियामा सो अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको तयारीबारे जानकारी दिँदै विदेशी विज्ञहरूले नेपालको वास्तविकतालाई नजिकबाट नियालेर भविष्यमा हुने कोप–२९ तथा अन्य वैश्विक मञ्चमा हिमाल जोगाउन पहल गरिने जानकारी दिएको छ ।
यस सम्मेलनले जलवायु परिवर्तनका कारण बाढी, पहिरो, अतिवृष्टि अनावृष्टि, तापलहर, डुबानलगायतका बढ्दो मौसमजन्य प्रकोपका कारण जनधनको उच्च क्षति हुने देश नेपाल बनेकोबारे विश्व समुदायलाई जानकारी दिँदै सो को अनुकूलनमा सघाउन मद्दत माग्ने उद्देश्य सम्मेलनले लिएको छ । त्यस्तै पर्वतीय क्षेत्र जैविक विविधताले धनी भूगोल हुनुका साथै यो क्षेत्र परम्परागत सिप, चलन तथा रहनसहनयुक्त ज्ञानको भण्डारका रूपमा विश्वसामु उजागर गर्ने अर्को उद्देश्य रहेको छ ।