काठमाण्डौं, जेठ ३ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सञ्चारिका समूहले नेपाली सञ्चारमाध्यममा वातावरण संरक्षणका विषय उठाउन र महिलासँगको अन्तरसस्म्बन्ध विषयक गोष्ठीलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जलवायु परिवर्तनको असरबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वव्यापी एजेण्डा बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताएकी छिन् ।

जलवायु परिवर्तन ठूलो चुनौतीको रुपमा देखा परेको छ । नेपाल जलवायु परिवर्तनको हिसाबले उच्च जोखिमयुक्त देश हो । यसले हिमाली क्षेत्रलाई सबैभन्दा बढी असर पार्दै गएको छ । हिमनदीहरू वर्षेनि खुम्चिँदै गएको र हिमताल फुटेर बाढी आउने सम्भावना बढ्दै गएको,  अतिवृष्टि र अनावृष्टि हुँदा प्राकृतिक विपदका घटना वर्षेनी बढ्दै गएकोले  जनधनको क्षति पनि बढिरहेको छ । यो अवस्थामाप्रति सबै पक्ष गम्भीर र संवेदनशील हुने बेला आएको स्पष्ट पारेकी छिन् ।

  आर्थिक कूटनीतिमा जलवायु कूटनीतिलाई महत्त्वपूर्ण अङ्गको रुपमा स्थापित गरेर लैजानुपर्ने  र त्यसका लागि आवश्यक वातावरण बनाउन पनि सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने प्रष्ट पार्दै जलवायु परिवर्तनले सिर्जना गरेका सङ्कटबाट बच्न खासगरी विपद्को सामना गर्न सञ्चारमाध्यहरुले सूचना र शिक्षा दुबै क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गर्दै विपद् पूर्वका सूचना प्रवाह गर्नेदेखि जोखिम विश्लेषण लगायतका कार्यमा सञ्चारमाध्यमहरुले भूमिका बढाउनुपर्ने बेला आएको बताइन् ।

यसका लागि सञ्चारमाध्यमहरुलाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारले जलवायु परिवर्नतसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरेको र यसकै आधारमा रहेर हामीले समग्र प्रचारप्रचारको नीति र आवश्यक संयन्त्र बनाउनुपर्ने आवश्यकता रहेको हुँदा जलवायु परिवर्तनले सिर्जना गर्ने सामाजिक विभेदलाई न्यून गर्न पनि आम सञ्चार क्षेत्रको ध्यान जाने विश्वास व्यक्त गरेकी छिन् ।