काठमाण्डौं,फागुन ८ । प्रधान न्यायालयका फैसला अब सर्वोच्च अदालतको वेबसाइटमा पढ्न पाइने भएको छ । अदालतले न्यायाधीश हरिप्रसाद फुयालको नेतृत्वमा बनाएको समितिले प्रधान न्यायालयका फैसला आधुनिक नेपाली भाषामा बोधगम्य बनाई प्रकाशनको काम गरेको हो ।

प्रजातन्त्र दिवसको अवसर पारेर प्रथम प्रधानन्यायाधीश हरिबहादुर प्रधानको जीवनी सार्वजनिक गर्दै प्रधान न्यायालयका फैसला समेत प्रकाशित गरेको हो । फैसला प्रकाशन समारोहलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फैसला प्रकाशनले विधिशास्त्रको उजागर गर्ने र न्यायाधीश, अध्यता कानुनका विद्यार्थीसहितलाई सहयोगी सामग्री हुने विश्वास व्यक्त गरेका छन् ।

 उक्त वेबसाइटमा सहजरूपमा उपलब्ध भएका फैसलाहरू न्यायाधीशहरू, कानुन र न्यायको क्षेत्रमा कार्यरत अधिकृत तथा कर्मचारीहरू, कानुन व्यवसायीहरू, अनुसन्धानकर्ता, कानुनका विद्यार्थीलगायत सरोकारवालाहरूलाई अत्यन्तै उपयोगी स्रोत सामग्रीको रूपमा रहने छन् ।