काठमाण्डौं, माघ ४ । नेपाल सरकार र एसियाली विकास बैङ्क (एडिबी) बिच १६ करोड अमेरिकी डलर  सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर  को अनुदान सम्झौता भएको छ ।

शहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट)  कार्यान्वयनका लागि  अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुष्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरेका छन् ।

सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सैनामैना नगरपालिका, सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकामा कार्यान्वयन हुनेछ । सम्झौतापत्रमा हस्ताक्षर पछि प्रतिक्रिया दिँदै अर्थसचिव पुष्करले यो परियोजना कार्यान्वयन हुने पालिकाको वित्तीय तथा समग्र प्राकृतिक पारिस्थितिक प्रणालीमा सकारात्मक प्रभाव पार्ने बताएका छन्।

उक्त परियोजनाले महिला, सीमान्तकृत तथा अर्थसामाजिकरुपमा पिछडिएका समूहको लागि इन्टर्नसिप, सीप सुधार र स्थानीय कलालाई समर्थन गर्नमा पनि योगदान गर्ने बताएका छन् । एडिबीका देशीय निर्देशक कोस्वाले सम्झौता भएका परियोजनाले सम्बन्धित पालिकाको पूर्वाधारमा सुधार, पर्यटन सम्पदाको पुनरुत्थान र सुधारमा सहयोगी हुने अपेक्षा गरिएको बताउएका छन् ।