विमानस्थल भन्सारमा सशस्त्र प्रहरी परिचालन
काठमाण्डौं, माघ २ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरी बललाई सहयोगीका रूपमा खटाएको हो ।
भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच शुरु गरेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका थिए ।
अर्थ मन्त्रालयले गरेको अनुरोध अनुसार गृह मन्त्रालयले सशस्त्र प्रहरीलाई खटाएको हो । अन्तर्राष्ट्रिय सीमा क्षेत्रको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरीलाई भएकाले उसलाई खटाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत २६ पुसमा यससम्बन्धी निर्णय गरेका थिए ।