काठमाण्डौं, मंसिर ५ । विरोधकर्ता तथा आन्दोलनकारीको प्रमुख केन्द्र बनेको माइतीघरलाई एक महिनाका लागि आन्दोलन निषेध गरिएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले माइतीघर–नयाँ बानेश्वर क्षेत्रलाई सम्भावित तनावलाई मध्यनजर गर्दै निषेधित क्षेत्र घोषणा गरेका हुन् । सूचनाअनुसार पद्मोदय मोड, सर्वोच्च अदालतको पश्चिम गेट, माइतीघर, बबरमहल, बिजुलीबजार तथा नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । जसअनुसार सोमबारदेखि ३० दिनसम्म आन्दोलन तथा विरोध प्रदर्शनमा रोक लगाइएको छ ।

आगामी ७ मंसिरमा एकै दिन दुई समूहबीच हुन लागेको विरोध कार्यक्रमलाई लक्षित गरी जिल्ला प्रशासनले यस्तो निर्णय गरेको हो । ७ मंसिरमा एमालेका युवा–विद्यार्थी तथा व्यवसायी दुर्गा प्रसाईंले छुट्टाछुट्टै विरोध प्रदर्शन गर्न लागेका छन् । दुवैले माइतीघर क्षेत्रलाई केन्द्रित गरी विरोध प्रदर्शन गर्न लागेपछि निषेधित क्षेत्र तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।