दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पोको तयारी पुरा
काठमाण्डौं, असोज २२ । आगामी शुक्रबारदेखि राजधानीमा आयोजना हुने “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” को तयारी पुरा भएको छ ।
हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गते सम्म सञ्चालन गर्न लागेको हो ।
एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनी मार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजक पक्षले जनाएको छ ।
नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, वाँस, केतुकी, भूँइकटहर लगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताउनुभयो ।
यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रृंगारका सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताउनुभयो ।
यसका साथै पस्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र संस्कृतिसँग सम्बन्धित क्रियाकलाप प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।
इन्टरनेशनल एक्स्पोमा ५ सय जना भन्दा बढी विदेशी क्रेताहरु (अमेरिका, क्यानडा, यूरोप, चीन, भारत लगायत अन्य देशहरुबाट) आउने तयारी रहेको आयोजकले बताएको छ ।
यस्तै प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरुलाई डिजीटल कारोवारमा अभ्यस्त बनाउन विशेष प्याकेज ल्याइएको छ । निःशुल्क रजिष्ट्रेशन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई सय रुपियाँको अनलाइन गिफ्ट भौचार उपलब्ध गराइने भएको छ । सो भौचारमार्फत अवलोकनकर्ताले इन्टरनेशनल एक्स्पो स्थलमा रहेका स्टलहरुमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीका संयोजक अधिकारीले बताउनुभयो ।
अर्नसिक्का नामक डिजीटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजीटल कारोवारमा साझेदारी गर्न लागिएको छ ।
नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ एक्स्पोस्थल लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन ईच्छुक सबैमा स्टल बुकिङ खुल्ला गरिएको छ ।