आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न परिसंघको आग्रह
काठमाण्डौं, भदौं ११ । नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरूमार्फत स्वदेशी वस्तुहरूको निर्यात एवं प्रबर्द्धननलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतवार परराष्ट्र मन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरूको प्रबर्द्धन गर्न, पर्यटन प्रबर्द्धन गर्नका लागि आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।
अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटो छरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेकोमा जोड दिए । उनले नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यवसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए ।
यसका लागि नेपाली दूतावासहरूले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने उनले बताए । परिसंघले भारतदेखि विराटनगरसम्म शुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनका लागि निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भेइकल एग्रिमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारी साधनहरूको आवतजावतलाई सहज बनाइनुपर्नेमा जोड दिएको छ ।