कर्जाको व्याजदर घट्यो
काठमाण्डौं, जेठ ९ । वाणिज्य बैंकहरूमा यही जेठदेखि कर्जाको ब्याजदर ०.२१ प्रतिशत विन्दुले घटेको छ । हरेक महिना व्याजदर परिमार्जन गर्न पाउने राष्ट्र बैंकको नीति र बैंकहरूको आधार दरमा आएको कमीका कारण जेठदेखि कर्जाको व्याजदर घट्न थालेको नेपाल बैंकर्स संघले बताएको छ ।
यसअघि आधार दरमा आएको परिवर्तनका आधारमा बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रूपमा मात्र कर्जाको व्याजदर घटबढ गर्न पाउँथे । उक्त व्यवस्था परिमार्जन गरेर मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकहरूले पछिल्लो तीन महिनाको औसत आधार दरमा आएको परिवर्तनका आधारमा हरेक महिना कर्जाको व्याजदर परिवर्तन गर्न पाउने नीतिगत व्यवस्था राष्ट्र बैंकले गरेको थियो । यही व्यवस्थाअनुसार बैंकहरूले जेठमै कर्जाको व्याजदर घटाएका हुन् ।
जेठदेखि वाणिज्य बैंकहरूमा नयाँ कर्जाको व्याजदर ०.२१ प्रतिशत विन्दु र पुरानाको ०.१३ प्रतिशत विन्दुले घटेको नेपाल बैंकर्स संघको तथ्यांक छ । पछिल्लो ३ महिना फागुन, चैत र वैशाख को औसत आधार दर १०.६४ प्रतिशत छ । यसअघि माघ, फागुन र चैतको औसत आधार दर १०.५९ प्रतिशत छ । यी २ औसत आधार दरका आधारमा पुराना ऋणीको व्याजदर औसतमा ०.१३ प्रतिशत विन्दुले घटेको हो । यस्तै, गत चैतको तुलनामा वैशाखमा आधार दर ०.२१ प्रतिशत विन्दुले घटेकाले सोही अनुपातमा नयाँ कर्जाको व्याजदर घटेको संघले जनाएको छ । बैंकर्स संघले यही जेठमा निक्षेपको व्याजदर भने स्थिर राखेको छ ।