राष्ट्र बैंकले अमेरिकी डलर सटहीको सीमा बढायो
काठमाण्डौं, वैशाख २० । विदेशी मुद्रा सञ्चितिमाथिको दबाब सहज बन्दै गएको समयमा नेपाल राष्ट्र बैङ्कले अमेरिकी डलर सटहीको सीमा बढाएको छ । बैङ्क तथा वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत परिपत्र, २०७९ मा संशोधन गर्दै राष्ट्र बैङ्कले यस्तो सीमा बढाएको हो ।
संशोधनअनुसार अब नेपाली नागरिकले मनी एक्सचेन्जमार्फत मासिक पाँच हजार अमेरिकी डलरको सटही सुविधा प्राप्त गर्ने भएका छन् । जुन यसअछि पाँच सय डलर मात्र थियो । संशोधन गरिएको परिपत्रमा भनिएको छ तर विदेशी इष्टमित्र र ग्राहकबाट उपहार, टिप्सबाट प्राप्त हुने रकमको सीमा भने अधिकतम पाँच सय डलर नै कायम गरिएको छ ।
अध्ययनका लागि विदेश जाने विद्यार्थीका लागि वेब पोर्टलमार्फत उपलब्ध अध्ययन स्वीकृति (नो अब्जेक्सन लेटर) कै आधारमा सटही सुविधा दिन बैङ्क तथा वित्तीय संस्थालाई अनुमति दिएको छ ।
त्यस्तै नेपाली नागरिकलाई विभिन्न प्रयोजनका लागि भारतीय मुद्राबाहेकको विदेशी मुद्राको सटही सुविधासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । यसअघि यस्तो सटही सुविधा अधिकतम अमेरिकी डलर एक हजार वा सो बराबरको अन्य विदेशी मुद्रासम्म प्रदान गर्न सकिनेछ भन्ने व्यवस्था रहेको थियो ।
त्यस्तै नेपालमा काम गरिरहेका विदेशीले सटही गरेर लैजान पाउने विदेशी मुद्रासम्बन्धी व्यवस्थामा पनि संशोधन गरिएको छ । नेपालमा वायुसेवा दिइरहेका कम्पनीमा कार्यरत विदेशी नागरिकका लागि नयाँ व्यवस्था थप गरिएको छ ।
नयाँ व्यवस्थाअनुसार श्रम स्वीकृति र सम्झौताको अवधिमा रोजगारदातासँग गरेको करारमा उल्लिखित पारिश्रमिकमा कर काटेर बाँकी हुने रकमको बढीमा ७० प्रतिशतसम्मको रकम श्रमिकले आफ्नो देशमा पठाउन सक्ने व्यवस्था परिपत्रमार्फत गरिएको राष्ट्र बैङ्कले जनाएको छ ।