काठमाण्डौं । नेपाल राष्ट्र बैङ्कले अन्तर बैङ्क एटिएम शुल्क घटाएको छ । एउटा बैङ्कको एटिएम कार्ड अर्को बैङ्कको एटिएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो ।

राष्ट्र बैङ्कले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैङ्क तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा प्रति  कारोवार बढीमा रु १५ सम्म शुल्क लिन सकिने जनाएको छ ।

यसअघि एउटा बैङ्कले जारी गरेको एटिएम कार्ड अर्को बैङ्क तथा वित्तीय संस्थाको एटिएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोवारको हकमा प्रति कारोवार रु २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो । तर अहिले मासिक २ वटासम्म कारोवार  निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ ।

राष्ट्र बैङ्कले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैङ्क खाताबाट वालेटमा प्रतिदिन रु ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रु दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।

त्यस्तै, वालेटबाट अन्य बैङ्कको खातामा पनि प्रतिदिन रु दुई लाखसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन रु ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो ।

मोबाइल बैङ्किङ तथा इन्टरनेट बैङ्किङको माध्यमबाट गरिने भुक्तानी कारोवारको सीमा पनि बढाइएको छ । मोबाइल बैङ्किङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन रु २ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रु ३  लाखसम्म कारोवार गर्न सकिने बनाइएको छ ।