निर्यातकर्तालाई तत्काल अनुदान
काठमाण्डौं । स्वदेशी वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीले अबदेखि २ हप्तामै नगद अनुदान पाउने भएका छन् । नेपाल राष्ट्र बैङ्कले निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७९ दोस्रो संशोधन गरी १५ दिनभित्रै अनुदान पाउने व्यवस्था गरेको हो ।
सरकारले चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा स्वदेशी वस्तु निर्यातमा ५ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार राष्ट्र बैङ्कले कार्यविधि संशोधन गरेर निर्यात गर्ने उद्योगी व्यवसायीलाई दुई हप्तामै नगद अनुदान खातामा जम्मा गर्ने व्यवस्था गरेको हो ।
यसअघि नगद अनुसन्धानसम्बन्धी कार्यविधि संसोधन नहुँदा अनुदान प्राप्त गर्न कठिनाइ भएको व्यवसायीको भनाइ थियो । निर्यातमा अनुदान प्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ मा कागजात पेस गरेको १५ कार्यदिनभित्र भुक्तानी गरिसक्नुपर्ने उल्लेख छ ।
निर्यातसम्बन्धी कागजातलाई उद्योग विभागमार्फत प्रमाणित कागजात बुझाउनुपर्नेछ । निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा सरकारले १५ दिनभित्रै नगद अनुदान जम्मा गरिदिने भएको छ ।
कार्यविधिमा स्वदेशी विभिन्न ३६ प्रकारका वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ । जससमध्ये १८ प्रकारका वस्तुमा मूल्य अभिवृद्धि ५० प्रतिशत र बाँकी १८ प्रकारका वस्तुमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।
निर्यात धेरै सम्भावना भएका क्लिङ्कर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी, सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउट सोर्सिङजस्ता सेवाहरू पहिचान गरी निर्यात गर्नेले ८ प्रतिशतसम्म निर्यात अनुदान पाउनेछन् ।
सरकारले चालू आ.व.को बजेटमार्फत आन्तरिक उत्पादनको निर्यात बढाएर बढ्दो व्यापार घाटा कम गर्ने उद्देश्यले निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेको थियो । राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै निर्यातसम्बन्धी नगद अनुदान दिने कार्यविधिको संशोधन गरेको जनाएको छ । निर्यातमा नगद अनुदान व्यवस्था गरेसँगै सिमेन्ट र छडको निर्यात शुरु भइसकेको छ ।