घट्न थाल्यो वैदेशिक लगानी प्रतिबद्धता
काठमाण्डौं । मुलुकमा वैदेशिक लगानीको प्रतिबद्धतामा कमी आएको छ । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो चार महिनामा (साउनदेखि कात्तिकसम्म) ९५ परियोजनाका लागि ११ अर्ब छ करोड २८ लाख ८ हजार ७०४ रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । गत वर्ष साउनदेखि कात्तिकसम्ममा २४ अर्ब ८० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।
विभागका अनुसार अहिले प्रतिबद्धता आएकामा उत्पादनमूलक उद्योग ५, पर्यटनमूलक उद्योग ३९, सेवामूलक उद्योग ४६, पूर्वाधारमा १ र सूचना प्रविधिमा आधारित उद्योग ४ वटा छन् । यसमा ठूला उद्योग १, मझौला उद्योग १९ र साना उद्योगको सङ्ख्या ७५ वटा छन् ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले विश्व आर्थिक मन्दी र रुस–युक्रेन युद्धका कारण वैदेशिक लगानी प्रतिबद्धता कम आएको बताउनुभयो । “विश्वभर देखिएको आर्थिक सङ्कटले लगानी प्रतिबद्धता अझै घट्ने देखिन्छ,” उहाँले भन्नुभयो । स्वदेशमा उद्योग खोल्ने भनेर लगानी प्रतिबद्धता जनाए पनि सोअनुसार लगानी नआएको जानकारी उहाँले दिनुभयो ।
विभागका अनुसार वैदेशिक लगानी प्रतिबद्धता जनाउनेमा सबैभन्दा बढी चिनियाँ लगानीकर्ता छन् । चिनियाँ लगानीकर्ताले सफ्टवेयर, होटल तथा रेस्टुरेन्ट, कार्गो क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बङ्गलादेशी लगानीकर्ताले कार्गो, गार्मेन्ट र विज्ञापन एजेन्सी क्षेत्रमा लगानी गर्नेछन् । सिङ्गापुरका लगानीकर्ताले निर्माण सेवा र कार्गोमा बढी लगानी गर्ने भएका छन् । यस्तै भारतीय लगानीकर्ताले आन्तरिक क्लियरेन्स डिपो सञ्चालन गर्ने विभागको तथ्याङ्क छ ।
यसैअघि प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि विभागले विदेशी नागरिकलाई व्यावसायिक भिसामा कडाइ गरेको थियो । पछिल्लो समय विदेशीले व्यावसायिक भिसा प्राप्त गर्ने प्रयोजनका लागि मात्र विदेशी लगानी स्वीकृत गरेको तर प्रतिबद्धताअनुसार लगानी नभित्रिएपछि भिसामा कडाइ गरिएको विभागले जनाएको छ । चालू आ.व.को कात्तिकसम्म ५३४ लगानीकर्तालाई व्यावसायिक भिसा सिफारिस गरिएको विभागले जनाएको छ ।