काठमाण्डौं । लगानी बोर्डले आर्थिक वर्ष ०७८/७९ मा एक खर्ब २२ अर्बबराबरको लगानी स्वीकृत गरेको छ । बोर्डले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पेस गरेको गत आवको कार्यसम्पादन प्रतिवेदनले यस्तो देखाएको हो ।

बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री देउवालाई प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले गत आवको कार्यसम्पादन प्रतिवेदन पेस गरेका थिए । ३२ साउन २०७८ मा सिइओ भट्टसँग सरकारले आव ०७८/७९ का लागि ४२ वटा क्रियाकलापमा समय सारिणीसहितको कार्यसम्पादन करार गरेको थियो । सोहीअनुसार बोर्डले प्रधानमन्त्रीलाई उक्त प्रतिवेदन पेस गरेको हो ।

बोर्डले गत आ.व.मा व्यावसायिक योजनासहितको पञ्चवर्षीय रणनीतिक योजना स्वीकृत गरी लागू गरिएको, लगानी बोर्डको परियोजना बैँकसम्बन्धी मार्गदर्शन तयार भएको र परियोजनाको अनुगमन सम्बन्धी ड्यासबोर्ड समेत तयार गरेको छ ।