काठमाण्डौं ।  नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त नेपालकै उत्कृष्ट बैंक एनएमबि बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा विश्व प्रतिष्ठित पुरस्कार थपेको छ, जुन नेपाली बैँकिङ ईतिहासमै पहिलो पटक प्राप्त भएको पुरस्कार हो । बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको छ ।

एनएमबि बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो, जुन नेपालको बैंकिङ उद्योगकै लागि आफैंमा एउटा ऐतिहासिक उपलब्धि हो । यो सँग–सँगै एनएमबिले “द बैंक अफ द इयर २०२१” को अवार्ड पनि जितेको छ । एनएमबिको यो ५ वर्षमा चौँथो अवार्ड हो । द बैंकर म्यागजिन, लण्डनबाट पुरस्कारको आधिकारिक घोषणा भएको सोही दिनमै एभरेष्ट होटलमा हिजो आयोजित पत्रकार सम्मेलनमा अवार्डको घोषणा गरिएको हो ।

बैंकका अध्यक्षले, सञ्चालक समितिका सदस्यहरु तथा एनएमबिका प्रमुख कार्यकारी अधिकृतको उपस्थितिमा सो उपाधि सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाको हातबाट समस्त बैंकिङ्ग क्षेत्रको तर्फबाट ग्रहण गर्नुभयो । उपाधिका लागि बैंकलाई बधाई दिँदै सम्माननीय प्रधानमन्त्रीले “दि बैंक अफ दि इयर एसिया २०२१” जस्तो विश्व–प्रतिष्ठित अवार्डद्वारा सम्मानित भएर एनएमबि बैंकले रचेको इतिहास यस बैंकले मात्रै नभई नेपाली वित्तीय क्षेत्रले नै ठूलो उपलब्धि मान्नुपर्ने बताउनुभयो ।

सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य–पूर्वी युरोप, एसिया, अमेरिका, मध्य–पूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टा–छुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ ।

बैंकको वृद्धि र कार्यसम्पादनको शैली, बैंकको रणनीतिक पहलहरू, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नवीनतम सेवा र उत्पादनहरु, दिगो विकासका लागि गरिएका गतिविधिहरू, र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।

दिगो बैंकिङको लागि बैंकले गरेको पहल, डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैली प्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमबिले यो अवार्ड जितेको हो । बैंकले दिगो संगठनात्मक संरचनामा आफ्नो पहिचान बनाएको छ र यसैले यसलाई यो प्रतिष्ठित पुरस्कारको लागि योग्य विजेता बनाएको छ ।

बैँकको विकास प्रक्षेपण (Growth Tarjetory) मा पनि उल्लेखनीय वृद्धि भएको छ जुन बैँकको लगातार वृद्धि भईरहेको ब्यालेन्स सिटले पुष्टि गर्छ । परम्परागत बैँकिङ भन्दा एक कदम अगाडि बढेर बैंकले डिजिटल रुपान्तरण र दिगो बैंकिङ प्रयासलाई प्राथमिकता दिँदै नेपाली बैंकिङ उद्योगमै पहिलोपल्ट स्थानीय ऋण–पत्र जारी गर्ने, विदेशी ऋण सम्झौता जारी गर्ने, बैंकिङ कारोबारको लागि ओम्नी च्यानलको प्रयोग गर्ने, भिडियो कल मार्फत KYC अपडेट गर्ने सुविधा ल्याउने र “एनएमबि सापटी” मार्फत २४ घण्टाभित्रै कागजी झन्झट बिना सापटी कर्जा प्रवाह गर्ने जस्ता नवीनतम सेवाहरु प्रदान गर्दै आइरहेको छ । यसको साथै बैँक पार्टनरशीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (Partnership for Carbon Accounting Financials ) को समिती सदस्य  र ग्लोबल अलायन्स फर बैंकिङ अन भ्याल्युज (Global Alliance for Banking on Values  (GABV)) सदस्य बैंक पनि हो । बैंकको देशभरी २०१ शाखाहरु छन् जसले डिजिटल सेवा प्रवाह गर्ने क्षमता राख्दछन् ।