फार्मेसीमा अनिवार्य पोसाक र परिचयपत्र लागु गरिँदै
काठमाण्डौं, मंसिर १७। नेपाल फार्मेसी परिषद्ले आउँदो पुस ४ गतेदेखि ‘फर्मासिस्ट’लाई अनिवार्य पोसाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागु गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको आग्रह बमोजिम परिषद्ले पहिलो चरणमा फर्मासिस्टको पहिचान खुलाउन पोसाक अनिवार्य गर्ने निर्णय गरेको थियो । परिषद्ले फर्मासिस्ट तथा सहायकका निम्ति सेतो एप्रोनसहितको पोसाक र पोसाकमै परिचयपत्र अनिवार्य गर्ने जनाएको छ ।
कुनै पनि सामुदायिक वा अस्पताल फार्मेसीमा औषधि वितरणमा कार्यरत फर्मासिस्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले निलो पृष्ठभूमिमा सेतो रङको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय आउँदो पुस ४ गतेदेखि लागु हुँदै छ ।