विपी राजमार्ग दैनिक ७ घण्टा बन्द
काठमाण्डौं, मंसिर ६ । विपी राजमार्गमा राति ९ बजेदेखि बिहान ४ बजेसम्म प्रत्येक दिन सडक बन्द हुने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले एक सूचना जारी गरी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको भन्दै सडक राति ७ घण्टा बन्द गर्न थालेको हो।
राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ। अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको छ।
यसैबीच गत असोजको बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोक पनि कायमै छ। उक्त खण्डमा सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आर्इएको हो।