काठमाण्डौं, भदौं १६ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका सूचक सकारात्मक बन्दै गएको बताएका छन् । सरकार गठनपछि अर्थतन्त्रका बाह्य सुचक सकारात्मक रहेको र आन्तरिक अर्थतन्त्रको सुधारमा थप कदम चाल्न तयार रहेको उनले बताएका छन् ।

आइतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले निजी क्षेत्रमैत्री नीति ल्याएको कारण पूँजीबजार, रियलस्टेट ऋण प्रवाह बढ्दै गएको बताए ।  सरकार नीतिगत तथा कार्यगत हस्तक्षेपबाटै अर्थतन्त्र सुधारको बाटोमा गएको र थप सुधारका लागि विभिन्न क्षेत्रबाट सुझाव लिएर अघि बढ्न सरकार तयार रहेको बताए ।

निजी क्षेत्र गुनासोभन्दा पनि सरकारलाई सहयोग गर्न लाग्नुपर्ने उनको भनाइ छ । सरकार तपाईंहरुका सबै गुनासो सुन्न र समाधान गर्न तयार छ” “निजी क्षेत्र लगानी बढाएर उत्पादन तथा रोजगारीका क्षेत्रमा केन्द्रित हुनुपर्छ ।” चालू आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तुलनात्मक रुपमा लचिलो रहेको र अर्थतन्त्रका समस्या समाधान गर्न केन्द्रित रहेको अर्थमन्त्री पौडेलले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताए । “बाह्य क्षेत्र सहज हुँदै गएको छ । मुद्रास्फीति घटेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ । अटोमोबाइल र पुँजीबजार  लगायत क्षेत्र चलायमान हुँदै गएको छ” , “चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ । हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने छौँ, गभर्नरले स्पष्ट पारे  ।

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताए । बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्नसक्ने उनको भनाईं छ ।

“बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थामा संस्थापक र ऋणी छुट्याउनुपर्ने भन्ने व्यवस्था संशोधनीय छ”,  ढकालले भने, “अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसले थप समस्या पार्छ ।” निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी चाँडो गरिनुपर्ने, भारतसँगका सीमा नाकामा हुने अवैध आयात तथा कारोबार रोकिनुपर्ने, भारतीय पर्यटकले नेपालमा बोक्न मिल्ने नगदसम्बन्धी व्यवस्था थप लचिलो बनाइनुपर्ने उनको माग छ ।

सेजनलाई २६ औं वार्षिक साधारण सभाको शुभकामना दिँदै नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताए । “बाह्यक्षेत्र सन्तुलनमा छ । बजारमा तरलता पर्याप्त छ । ब्याजदर पनि घटेको छ । तर अहिले आयात र निर्यात घेटेको छ । यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो”, अध्यक्ष अग्रवालले भने । अर्थतन्त्र सुधारका लागि उत्पादन क्षेत्रमा सुधार गरी आन्तरिक माग बढ्नुपर्ने, सरकारको वार्षिक बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्ने, लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि पुँजीगत खर्च बढाउनुपर्ने, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी चाँडो हुनुपर्ने, दिगो पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अग्रवालको भनाइ छ ।