काठमाण्डौं, साउन ३१ गते । आइएमई र जिएमई रेमिट गाभिएका छन् । आइएमई र जिएमई रेमिटले मर्जरपछिको एकीकृत कारोवार शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्र र आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकीकृत कारोवारको शुभारम्भ गरेका हुन् । मर्जरपछि बनेको आइएमईको चुक्ता पुँजी १ अर्व नाघेको छ ।

एकीकृत कारोवारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिटेन्सको योगदान सशक्त रहेको बताउदै  रेमिट्यान्स सेवालाई सहज एवं थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने  स्पष्ट पारेका छन् ।

त्यसैगरी आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिव २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट शुरु भएको आइएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको प्ररम्भिक यात्राबारे स्मरण गराउदै  आफु जापान बस्दा आफैँले नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीहरूले आफ्नै कमाइ आफन्तसम्म पुर्याउन  झेलिरहेका समस्याहरू देखेका कारण आइएमईको जन्म हुन पुगेको स्पष्ट पार्दै आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी गराएका छन् ।