काठमाण्डौं,  साउन ७ गते  । सत्ता साझेदारीका लागि संसद्का दुई ठुला दल नेपाली कांग्रेस र नेकपा ९एमाले० बिच भएको  ७ बुँदे सहमति सार्वजनिक भएको छ । असार १७ गते भएको यो सहमति गोप्य राखिएको भन्दै सार्वजनिक गर्न माग भइरहेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार प्रतिनिधि सभामा विश्वासको मतको वक्तव्य  दिने क्रममा यो सहमति सदनमा जानकारी गराएका हुन् ।

उक्त सहमतिमा आलोपालो सरकार निर्माण र सञ्चालन, संविधान कार्यान्वयनमा देखिएका जटिलता सम्बोधन गर्न सहमतिमा संशोधन प्रक्रिया अगाडि बढाउने लगायतका विषय समेटिएका छन् । सहमति अनुसार जनताको चाहना  बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तिव्रता दिन राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषय समेटिएको छ ।

यस्तै संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखा परेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने सहमतिमा उल्लेख छ । अर्थतन्त्रको शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने दुई दलको सहमतिमा उल्लेख छ ।

त्यसैगरी सहमतिमा शुरुको २ वर्षसम्म एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मङ्सिरमा हुने निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ । भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्धन गर्ने गरी सहमतिको सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम सञ्चालन गर्ने पनि सहमतिमा उल्लेख छ । राष्ट्रिय सहमतिको सरकारका लागि प्रमुख दुई दलले नेतृत्वदायी भूमिका निर्वाह गर्ने र अन्य दललाई समेत सरकारमा समावेश गर्ने पनि सहमतिमा उल्लेख छ । राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरूप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरूप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणका कामलाई तीव्रता दिने सातबुँदे सहमतिमा उल्लेख छ ।