काठमाण्डौं, साउन ६ । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी) को योगदानको स्मरण गर्दै आज मुलुकभर विभिन्न कार्यक्रम गरी ४२औँ स्मृति दिवस मनाइँदै छ ।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका थिए ।  विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी ६  उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी २ कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।