काठमाण्डौं, साउन २ । लगातार वर्षासँगै काठमाण्डौं उपत्यकाको वायु ‘स्वस्थकर’ बनेको छ । वातावरण विभागको पछिल्लो २४ घण्टाको रेकर्डअनुसार उपत्यकाका विभिन्न स्थानमा वायुको गुणस्तर एक्यूआई (एयर क्वालिटी इन्डेक्स) ४४ भन्दा कम छ ।

एक्यूआई सबैभन्दा कम रत्नपार्कमा १२ छ । यस्तै, ललितपुरको खुमलटारमा २५, शंखपार्कमा ३२ र भक्तपुरमा ४४ छ । विभागका अनुसार सबैभन्दा कम एक्यूआई मकवनपुरको हेटौँडामा ४ रेकर्ड भएको छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । एक्यूआईमार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा तथा पीएम २.५ जाँचिन्छ । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइड लगायतको मात्रालाई बुझाउँछ । काठमाण्डौंमा फागुनदेखि वैशाख अन्तिमसम्म अधिकतम एक्यूआई ३०० सम्म पुगेको विभागको रेकर्ड रहेको छ ।