काठमाण्डौं, असार ३० । त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको यात्रुसहितको दुई बस खोजी कार्यका लागि १ सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।

सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि १ सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको जानकारी दिएका छन् ।

उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट  डिएसपीको कमाण्डमा ११ गोताखोरसहित ७९ जना, नं. १७ गणबाट डिएसपीको कमाण्डमा ११ जना (चनौली इलाका ) र इन्स्पेक्टरको कमाण्डमा २५ जना (सिमलताल इलाका)  बेपत्ताको खोजी कार्यमा खटिएका छन्।

यसैगरी, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना र्‍याफ्टिङ बोटसहित (देवघाट–गोलाघाट ) इलाका, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना (देवघाट इलाका) र सप्रसनिको कमाण्डमा ९  जना ( पुलचोक नारायणी नदी किनार)  इलाकासहित जम्मा १ सय ४९ जना खोजी कार्यको लागि परिचालन गरिएको छ ।