त्रिशूलीमा बेपत्ता बस र यात्रुको खोजी तिव्र
काठमाण्डौं, असार ३० । त्रिशूली नदिमा दुर्घटना भई बेपत्ता भएको यात्रुसहितको दुई बस खोजी कार्यका लागि १ सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको छ ।
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवम् सह प्रवक्ता शैलेन्द्र थापाले बेपत्ताहरूको खोजी तथा उद्धारका लागि १ सय ४९ जनाको सुरक्षा फौज परिचालन गरिएको जानकारी दिएका छन् ।
उनका अनुसार सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट डिएसपीको कमाण्डमा ११ गोताखोरसहित ७९ जना, नं. १७ गणबाट डिएसपीको कमाण्डमा ११ जना (चनौली इलाका ) र इन्स्पेक्टरको कमाण्डमा २५ जना (सिमलताल इलाका) बेपत्ताको खोजी कार्यमा खटिएका छन्।
यसैगरी, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १५ जना र्याफ्टिङ बोटसहित (देवघाट–गोलाघाट ) इलाका, सशस्त्र प्रहरी सहायक निरीक्षकको कमाण्डमा १० जना (देवघाट इलाका) र सप्रसनिको कमाण्डमा ९ जना ( पुलचोक नारायणी नदी किनार) इलाकासहित जम्मा १ सय ४९ जना खोजी कार्यको लागि परिचालन गरिएको छ ।