काठमाण्डौं,असार १६ । पुँजी कोष दबाबमा रहेका कारण पुँजी कोष बढाउने विकल्प दिनुपर्ने माग गरिरहेका बैङ्कका लागि अग्राधिकार शेयर जारी गर्ने बाटो खुलेको छ ।

नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूका लागि विभिन्न सर्तसहित अग्राधिकार शेयर जारी गर्ने बाटो खोलिदिएको हो । नोक्सानी भएका बैङ्कलाई पनि ऋणपत्र जारी गर्न दिने, दायित्व नपर्ने तर पुँजीमा गणना गर्न पाइने शेयर  जारी गर्न दिने सुविधा ल्याइएको हो ।

राष्ट्र बैङ्कले चुक्ता पुँजीको दबाब कम गर्न मिल्ने गरी यस्तो सुविधा दिएको हो । अब चुक्ता पुँजीको ५ प्रतिशतसम्म सञ्चित नोक्सानी रहेका बैङ्क तथा वित्तीय संस्थाहरूले पनि ऋणपत्र जारी गर्न पाउने भएका हुन् । यसअघि सञ्चित नोक्सानी शून्य बनाएपछि मात्रै ऋणपत्र जारी गरिने व्यवस्था थियो । बैङ्क तथा वित्तीय संस्थालाई दायित्व नपर्ने तर पुँजी कोषमा गणना गर्न मिल्ने किसिमको अविमोच्य असञ्चिति अग्राधिकार शेयर  जारी गर्न पाउने सुविधा दिइएको छ । यस्तो सेयर पुँजी कोषमा गणना हुने भएकाले बैङ्क तथा वित्तीय संस्थालाई पुँजी कोषको अनुपात पुर्याउन सहयोग हुन्छ । साथै यस्तो शेयरधनीलाई वित्तीय सङ्कटका कारण लाभांश नदिने अवस्था सिर्जना भएमा दिनैपर्ने बाध्यता हुँदैन । अग्राधिकार शेयर  लिनेहरूलाई मताधिकार पनि नहुने भएकाले बैङ्क तथा वित्तीय संस्थाले बिना  व्यवस्थापकीय हस्तक्षेपमा पुँजीको उपयोग गर्न पाउनेछन् ।