प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
काठमाण्डौँ, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा बैठकबाट विश्वासको मत प्राप्त गरेका छन्। प्रधानमन्त्री प्रचण्डको पक्षमा १५७ मत र विपक्षमा शून्य मत परेको छ । प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) बमोजिम विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ । संसद बैठकमा १५८ जना सांसदको उपस्थिति रहेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको होहल्ला र विरोधको बाबजुद पनि सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीको विश्वासको मत लिने प्रक्रिया शुरु गरेका थिए । कांग्रेस सांसदले सहकारी विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध गरेका थिए ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) ले गत वैशाख ३१ गते सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले आज सोमवार चौथो पटक सदनबाट विश्वासको मत लिएका हुन्। सरकारलाई समर्थन गरेको दलले बिचैमा सरकारबाट बाहिरिएमा ३० दिनभित्र विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको छ ।