अब राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण
काठमाण्डौं, जेठ ४ । सवारीचालक अनुमतिपत्रको विवरण अब राष्ट्रिय परिचयपत्रमै राखिने भएको छ । यसका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र यातायात व्यवस्था विभागले सम्झौता गरेका छन् । गत ३१ वैशाखमा बसेको दुई निकायका महानिर्देशक नेतृत्वको छलफलले सेवा अन्तरआबद्धतासम्बन्धी समझदारी गरेको हो । जसअनुसार सवारीचालक परिचयपत्रको कामसमेत राष्ट्रिय परिचयपत्रले नै गर्नेछ ।
यातायात व्यवस्था विभागले राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपाली नागरिकको हकमा सो नम्बरबाट र परिचयपत्रसमेत प्राप्त गरिसकेका नेपाली नागरिकको हकमा परिचयपत्रमा रहेको क्युआर कोडलाई स्क्यान गरी यातायात व्यवस्था विभागको सूचना प्रणालीमा ड्राइभिङ लाइसेन्सको विवरण नेपाल प्रहरीले रुजु गर्ने गरी मोबाइल एप निर्माण गर्ने समझदारी भएको छ। यसरी परिचयपत्रमै लाइसेन्सको विवरण राखेर दिन सकेमा सर्वसाधारणलाई पनि सहज हुने र सरकारको ठूलो खर्च पनि जोगिने छ ।