काठमाण्डौं फागुन १८ । नेपालमा पहिलो पटक जल तथा मौसम विज्ञान नीति आउने भएको छ । विभिन्न नाम हुँदै करिब  सय वर्षको यात्रा पार गरेको जल तथा मौसम विज्ञान विभाग आफ्नै नीतिमा उभिन खोजेको हो । हालसम्म विभागले जलस्रोत, ऊर्जा, सिँचाइलगायत छरिएर रहेका नीतिमा टेकेर काम गरिरहेको जनाइएको छ ।

मौसम परिवर्तनका कारण तापक्रम वृद्धिसँगै जलवायु परिवर्तनको जल्दोबल्दो विश्वव्यापी मुद्दाको नेतृत्वदायी निकायको अभाव नेपालले खेपिरहेका बेला विभागले सो अभाव पूर्ति गर्ने गरी जल तथा मौसम नीति ल्याउन लागेको हो । नीतिको मस्यौदामाथि सुझाव सङ्कलनका लागि काठमाडौँमा राष्ट्रिय परामर्श गोष्ठीको आयोजना गरिएको थियो ।

सो कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसमजन्य विविध समस्याले विपत् तथा जलवायु परिवर्तनका समस्या सिर्जना भइरहेका बेला आउन लागेको नीति ती समस्या समाधान गर्न सक्ने क्षमतासहितको बन्नुपर्नेमा जोड दिएका छन् ।

त्यसैगरी विभागका महानिर्देशक ड. जगदीश्वर कर्माचार्यले नेपालमा हुने ९० प्रतिशत प्राकृतिक विपत् जल तथा मौसमजन्य प्रकोपले ल्याउने गरेको तथ्यका आधारमा नीतिको आवश्यकता रहेको उल्लेख गरेका छन् ।