चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा शुरु
काठमाण्डौं फागुन ६ । चौथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा शुरु भएको छ । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उदघाटन गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तीय पहुँचमा पुग्न सफल भएको बताएका छन् ।
नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँगाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञानसमेत दिएको भन्दै ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले २१ प्रतिशत जनसङ्ख्या औपचारिक वित्तीय पहुँचमा नरहेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गर्दै समावेशी विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको, “आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न, स्थानीय विकासलगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्त्वपूर्ण रहेको तथा आयआर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुण लगाएको उल्लेख गरेका छन् ।