इ–भिसा शुरु
काठमाण्डौं, माघ २८ । नेपाल आउन चाहने विदेशी नागरिकले अब संसारको जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका छन् । अध्यागमन विभागले ‘इ–भिसा’ प्रणाली लागू गरेपछि नेपाल आउन चाहने विदेशी नागरिकले जुनसुकै ठाउँबाट भिसा लिन सक्ने भएका हुन् ।
विभागले इ–भिसा प्रणाली कार्यान्वयनमा ल्याएको छ, जसलाई विभागले इटिए (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन) भनेको छ । यो इ–भिसाको पूर्वअभ्यास हो । विदेशबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न सक्ने प्रणाली विकास गरिएपछि यसलाई इ–भिसा नै भनिनेछ ।
जहाँबाट पनि भिसाबापतको शुल्क भुक्तानी गर्न मिल्ने गराउन सुरुमा नेपाल सरकारले डलर खाता खोल्नुपर्नेछ । विभागका अनुसार आगामी चैत मसान्तभित्र डलर खाता खोलिसकिनेछ । र, विदेशी नागरिकले जुनसुकै कुनाबाट भिसाबापतको भुक्तानी गर्न सक्नेछन् । हाल विदेशी नागरिकले भिसाबापतको शुल्क नेपाली बैंकिङ प्रणालीबाट नै भुक्तानी गर्नुपर्नेछ ।
विभागका महानिर्देशक रुद्रसिंह तामाङले नेपाल आउन चाहने विदेशी नागरिकले संसारको जुनसुकै कुनाबाट भिसा लिन सक्ने बताए । ‘इ–भिसा प्रणालीको सुरुवात भएको छ । नेपाल आउन चाहने विदेशी नागरिकले संसारको जुनसुकै कुनाबाट अब भिसा लिन सक्ने भएका छन्,’ उनले भने, ‘डलर खाता नभएसम्म भिसाबापतको शुल्क भने नेपाली बैंकिङ प्रणालीबाट नै भुक्तानी गर्नुपर्नेछ । खाता खोलिएपछि संसारको जुनसुकै बैंकबाट भिसाबापतको शुल्क भुक्तानी गर्न सकिनेछ ।’
विभागका अनुसार नेपालको भिसा लिन चाहने विदेशी नागरिकले संसारको जुनसुकै कुनाबाट नेपालको भिसा ‘अप्लाई’ गर्न सक्छ । भिसा ‘अप्रुभ’ भएपछि सम्बन्धित नागरिकको इमेलमा नोटिफिकेसनसहितको ‘क्युआर कोड’ जान्छ । सोही कोडमार्फत उसले भिसा शुल्क भुक्तानी गर्छ । हालका लागि शुल्क नेपाली बैंकिङ प्रणालीबाट मात्रै भुक्तानी गर्न सकिनेछ । विमानस्थलस्थित अध्यागमनको डेक्समा पुगेर पासपोर्टमा भिसा टासिनेछ ।