निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता
काठमाण्डौं, पुस २९ । निर्वाचन आयोगले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आचारसंहिता जारी गरेको छ । आउँदो माघ २ देखि १२ गते राष्ट्रिय निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागु हुने गरी आचारसंहिता जारी गरिएको हो ।
यो अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष र विपक्षमा हुने गरी प्रयोग गर्न र गराउन पाइँदैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न गराउन नहुने आयोगले जनाएको छ ।
यस्तै,कुनै सरकारी वा अर्धसरकारी निकाय र सार्वजनिक संस्था वा विद्यालय, विश्वविद्यालय को क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न गराउन पाइने छैन ।
राजनीतिक दल वा उमेदवारको निर्वाचन चिन्ह अंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शन गर्न गराउन नहुने आयोगले स्पष्ट पारेको छ ।