एमालेको ‘संकल्प यात्रा’का उपलब्धि सार्वजनिक
काठमाण्डौं, पुस ८ । नेकपा एमालेले मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित आफ्नो ‘समृद्धिका लागि संकल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ।
बैतडीको झुलाघाटबाट गत मंसिर १४ गते शुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो।
एमालेको केन्द्रीय कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा यात्राले पार्टी, कार्यकर्ता र स्थानीय जनतामा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ।
अध्यक्ष ओलीले उक्त यात्रा असाधारण र अविष्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।
‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको जनाइएको छ।
साथै स्थानीय किसानसँग अन्तर्क्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको संकलन गरिएको एमाले सचिवालयले जनाएको छ।