काठमाण्डौं, कात्तिक ३० । चीन सरकारले जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरूलाई सहयोग गरेको छ । यसका अतिरिक्त चिनियाँ कम्युनिस्ट पार्टीले पनि ठूलो मात्रामा सहयोग गरेको छ ।

पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले नेपाली राजनीतिक दलका प्रतिनिधिमार्फत हिजो बुधबार साँझ २ करोड ७४ लाख ७५ हजार रुपैयाँ बराबरको  राहत सामग्री उपलब्ध गराएको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सीनले ती सामग्री नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ र नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठलाई संयुक्त रूपमा हस्तान्तरण गरेका छन् ।

भूकम्प पीडितका घरदैलोमा नै ती सामग्री चिनियाँ दूतावासले पुर्‍याइदिने तथा स्थानीय राजनीतिक दल र प्रतिनिधिहरूको सहयोग र समन्वयमा राहत सामग्री वितरण गर्न आफूहरूले सुझाएको जानकारी दिँदै उनले छठपछि उक्त सामग्री एकद्वार प्रणालीबाट भूकम्पपीडितलाई हस्तान्तरण गरिने नेता भट्टराईले बताएका छन् ।