इजरायलबाट विद्यार्थी आज नेपाल ल्याइँदै
काठमाण्डौं, असोज २५ । इजरायलमा हमासले गरेको आक्रमणका कारण त्यहाँबाट स्वदेश फर्कन चाहेका विद्यार्थीहरु बिहिवार नेपाल आउने भएका छन्। नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बिहिवार बिहान २:३० बजे प्रस्थान गरेका छन् । उनीहरूलाई लिएर जहाज आज नै बेलुकी ८:२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।
इजरायलका लागि नेपालका राजदूत कान्ता रिजालका अनुसार पहिलो चरणमा २५४ जना विद्यार्थी फर्काउन लागिएको हो। स्वदेश फर्किन चाहनेको सङ्ख्या धेरै भएपछि पहिलो चरणमा विद्यार्थी मात्रै फर्काइने र त्यसपछि क्रमशः श्रमिकलाई फर्काइने जानकारी दिएकी छिन् ।
नेपाली विद्यार्थीको शव ल्याउन भने अझै केही समय लाग्ने भएको छ । इजरायल सरकारले तत्काल शव हस्तान्तरण गर्ने अवस्था देखिएको छैन। धेरैको संख्यामा मृत्यु भएको र कतिपयको डिएनएसमेत परीक्षण गर्नुपर्ने अवस्था रहेको हुँदा त्यहाँबाट सबै प्रक्रिया पूरा गरी शव ल्याउन समय लाग्ने भएको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले इजरायलको ‘प्रोटोकल’ अनुसार तत्काल शव ल्याउन नमिलेको बताउँदै सरकारले चाँडोभन्दा चाँडो शव ल्याउन पहल गरिरहेको भन्दै बाध्यता बुझिदिन परिवारजनसँग आग्रह गरकी छिन् । त्यसैगरी हराइरहेका कञ्चनपुरका विपिन जोशीको खोजी कार्यलाई तीव्रता दिएको समेत स्पष्ट पारेकी छिन् ।