राष्ट्र बैंकले मुद्दती निक्षेपमा लगानी थप्दै
काठमाण्डौं, जेठ २४ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूको मुद्दती निक्षेपमा करिब डेढ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले निक्षेप २०८० असार १ देखि २०८१ असार २ गतेसम्म ३६६ दिन अवधिको लागि राख्न लागेको हो । निक्षेप लिन चाहने बैङ्क तथा वित्तीय संस्थाहरूले जेठ २५ गते बिहीबार सम्ममा ब्याजदर प्रस्ताव पेस गरिसक्नुपर्ने छ । राष्ट्र बैङ्कको निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने छ ।
राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम ‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । वाणिज्य बैङ्कहरूमा १ अर्ब १७ करोड ६० लाख रुपियाँ, विकास बैङ्कहरूमा २२ करोड ५ लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा ७ करोड ३५ लाख रुपियाँ गरी कुल १ अर्ब ४७ करोड रुपियाँ मुद्दती निक्षेपमा राख्न लागेको हो ।