मुद्दती निक्षेपमा २ अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
काठमाडौँ, वैशाख १७ । नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा २ अर्ब रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैङ्कहरूमा १ अर्ब ६० करोड १२ लाख रुपियाँ, विकास बैङ्कहरूमा ३० करोड २ लाख रुपियाँ र फाइनान्स कम्पनीहरूमा १० करोड गरी कुल २ अर्ब १४ लाख रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।
आगामी जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म ३६५ दिन अवधिका लागि राख्न लागिएको निक्षेप रकम लिन चाहने बैङ्क तथा वित्तीय संस्थाले वैशाख १७ गतेसम्ममा व्याजदर प्रस्ताव पेस गरिसक्नुपर्ने राष्ट्र बैङ्कले जारी गरेको सर्कुलरमा उल्लेख छ । निक्षेप लिनका लागि बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा गरेको हुनुपर्नेछ भने राष्ट्र बैङ्कले तोकेको न्यूनतम पुँजी कोष कायम हुनुपर्ने राष्ट्र बैङ्कको शर्त रहेको छ ।
निक्षेप लिनका लागि निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पुँजी अनुपात बैङ्कले समयसमयमा निर्धारण गरेको सीमाभित्र रहेको हुनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।
यस्तै शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने, समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको ६ महिना अवधि पूरा भएको तथा सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी गरिसकेको हुनुपर्नेजस्ता शर्त राखिएको छ ।