म्यानपावर कम्पनीको शाखा विस्तार
काठमाण्डौं । वैदेशिक रोजगार विभागको पुनः अनुमतिपछि वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीले उपत्यकाबाहिर धमाधम शाखा विस्तार गरेका छन् । विभागका सेवालाई प्रत्येक प्रदेशमा विस्तार गरिसकेको विभागले म्यानपावर कम्पनीका शाखा विस्तारका लागि पुनः अनुमति दिएसँगै ५० वटा म्यानपावर कम्पनीले विभिन्न जिल्लामा शाखा विस्तार गरेका हुन् ।
विभागका अनुसार केही वर्ष पहिले पनि यस्तो अनुमति दिने गरिएकोमा जिल्लामा सञ्चालित म्यानपावर कम्पनीबाट ठगी बढेको र नियमनमा समस्या भएको भन्दै शाखा खारेजी गरिएको थियो । विभागबाट अहिलेसम्म ५० वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । अरूले पनि यस्तो अनुमति माग गरिरहेका छन् ।
विभागका अनुसार वैदेशिक रोजगार ऐनले गरेको व्यवस्थाअनुसार दर्ता भएर सञ्चालित ८७६ वटा म्यानपावर कम्पनीमध्ये १०० वटाले अनुमति लिएर शाखा विस्तार गरिसकेका छन् । नियमअनुसार प्रत्येक म्यानपावर कम्पनीले एउटा प्रदेशमा एउटा मात्रै शाखा खोल्न पाउनेछन् । शाखा खोल्नका लागि ५ लाख रुपियाँ थप धरौटी थप्नुपर्नेछ ।