बढ्यो विदेशी विनिमय सञ्चिति
काठमाण्डौं । १ महिनामा विदेशी विनिमय सञ्चिति ३० अर्ब रुपियाँले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सोमवार सार्वजनिक गरेको ११ महिनाको तथ्याङ्कमा विदेशी विनिमय सञ्चितिमा सुधार देखिएको हो ।
वैशाखमा विदेशी विनिमय सञ्चिति ११ खर्ब ४६ अर्ब ८८ करोड रुपियाँ रहेकामा जेठमा ११ खर्ब ७६ अर्ब ८४ करोड रुपियाँ पुगेको हो । गत फागुनमा ११ खर्ब ६७ अर्ब ९२ करोड र चैतमा ८ महिनामा ११ खर्ब ७१ अर्ब रुपियाँ थियो । गत आर्थिक वर्षको जेठ महिनाको तुलनामा यो वर्षको जेठमा भने विदेशी विनिमय सञ्चिति घटेको छ ।
गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा कुल विदेशी विनिमय सञ्चिति १५ दशमलव ९ प्रतिशतले घटेर ११ खर्ब ७६ अर्ब ८४ करोड रुपियाँमा झरेको राष्ट्र बैङ्कले जनाएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकामा यो वर्षको जेठ मसान्तमा १९ प्रतिशतले कमी आई ९ अर्ब ४५ करोड रहेको छ । चालू आर्थिक वर्षको जेठ मसान्तमा कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५ प्रतिशत रहेको छ ।
चालू आर्थिक वर्षको प्रथम ११ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७ दशमलव ५३ महिनाको वस्तु आयात र ६ दशमलव ७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ ।