काठमाडौं । आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रा।लि।बीच सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो ।

समितिले आन्तरिक उडानको हवाई भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा बुद्ध र यति एअरलाइन्स प्रा।लि।बीच सहमति गराएको हो । यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल सङ्घ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ ।

विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताउनुभयो । विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्, अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएको गिरीले बताउनुभयो ।