काठमाण्डौं । शेयर बजार बढे पनि कारोवार  रकममा सुधार आउन सकेको छैन। राष्ट्र बैंकले  बढ्दो ब्याजदरलाई रोक लगाइदिएपछि  आइतवार शेयर बजार  सकारात्मक  बनेको छ। लगानीकर्ताहरू अझै प्यानिक अवस्था रहँदा बढेको बजारमा  नाफा बुक गर्ने प्रतिस्पर्धाले  सेयर खरिद–बिक्रीमा कमी आएको हो। लगानीकर्ताहरू अबको  बजार कता  जान्छ भनेर  मूल्यांकन  गर्नका लागि अझै  केही दिनको कारोवारलाई पनि  हेर्नुपर्ने बताउँछन्।   केही दिन बजार सकारात्मक हुन सकेमा नाफा बुक गर्ने प्रतिस्पर्धा कम हुनेछ जसको कारण शेयर खरिद–बिक्रीमा सुधार आउने र बजारको गति पनि स्पष्ट हुने  केही ठूला लगानीकर्ताहरू बताउँछन्।  

आइतवार कारोवारमा आएका दुई सय २५ कम्पनीको  ५८ लाख कित्ता ( इकाइ) सेयर खरिद बिक्री हुँदा दुई अर्ब ७७ करोड ३४ लाख रुपैयाँको सेयर कारोवार भएको छ ।  सर्वाधिक कारोवार हुने कम्पनीमा आइसिएफसी फाइनान्स  कम्पनी रहेको छ ।  कम्पनीको सो दिन १५ करोड ९१ लाख रुपैयाँको कारोवार भएको छ भने दोस्रो कारोवारमा रहेर एनआइसी एसिया बैंक रहेको छ ।  बैंकको सो दिन ९ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।  अरुण भ्याली हाइड्रो पावर कम्पनी, युनाइटेड मोदी हाइड्रो पावर, नबिल बैंक,अपि पावर कम्पनी, सिद्धार्थ बैंक लिमिटेडको रिद्धि हाइड्रो पावर कम्पनीको आठ करोडदेखि ६ करोड  रुपैयाँसम्मको कारोवार भएको छ।