कोरोना प्रभावित ऋणीले ऋण तिर्न अतिरिक्त समय पाउने
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा आउँदो पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज दायित्वलाई एक वर्षसम्म म्याद थप गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै कोरोनाबाट अति प्रभावित क्षेत्रहरु रेष्टुरेण्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था, मनोरञ्जन व्यवसाय तथा नगद प्रवाह अवरुद्ध भएका लघु, घरेलु, साना तथा मझौला व्यवसायीलाई असर मूल्याङ्कन गरी पुस मसान्तसम्म भुक्तान गर्नुपर्ने साँवा तथा ब्याज एक वर्षसम्म म्याद थप गरी कम्तिमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
यस्तो ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याज नलाग्ने व्यवस्था मिलाउन समेत भनिएको छ । यस्तै होटल, ट्राभल, ट्रेकिङ्ग र हवाई सेवा जस्ता बाह्य पर्यटकमा निर्भर रहनुपर्ने व्यवसायीलाई परेको कोरोनाको असर मूल्याङ्कन गरी २०७९ असार मसान्तसम्म हुन आउने ब्याजलाई छुट्टै हिसाब राखी दुई वर्षसम्ममा कम्तीमा चार किस्तामा असुली गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।