काठमाण्डौं  ।  नेपाल आर्थिक पत्रकार समाज सेजनले आर्थिक पत्रकारिता सम्वन्धी हाते पुस्तक प्रकाशित गरेको छ ।


नेपाल संघीयतामा गएपछि संघसँगै प्रदेश र स्थानीय तहसम्म आर्थिक क्षेत्रलाई पत्रकारिताको विधाको रुपमा विकास गर्ने उद्देश्यसहित सेजनले पुस्तक प्रकाशन गरेको हो । एक कार्यक्रमबीच  अर्थमन्त्री जनार्दन शर्माले पुस्तकको विमोचन गर्नुभएको छ ।


आर्थिक क्षेत्रका सबैजसो विधा समेटर ल्याइएको पुस्तक १४ अध्यायमा विभाजन गरिएको छ ।
विश्व बैंकको सहयोगमा प्रकाशन गरिएको यो पुस्तकमा आर्थिक विषयवस्तु सहज बनाउनुका साथै सैद्धान्तिक  पक्षसँगै उदाहरण तथा पत्रकारले बुझ्नुपर्ने मुद्दा र प्रश्नहरू समावेश गरिएको छ । पुस्तक तयार पार्नको लागि अर्थ तथा पत्रकारिता क्षेत्रका अनुभवी व्यक्तिहरू प्रेम खनाल, हरिबहादुर थापा, सेजनका निवर्तमान अध्यक्ष पुष्पराज आचार्य, सेजन अध्यक्ष भीम गौतम र पत्रकार यज्ञ बन्जाडेको मुख्य भूमिका रहेको सेजनले जनाएको छ  ।



पुस्तक विमोचन कार्यक्रममा अर्थमन्त्री शर्माले पुस्तक अर्थका विषयमा जानकारी लिनको लागि उपयोगी हुने बताउनु भयो । मन्त्री शर्माले पुस्तकमा सैद्धान्तिक पक्षहरुका साथै अर्थ पत्रकारिताको आचारसंहिता समेत बनाएको कारण मर्यादित पत्रकारितामा सहयोग पुरयाउने बताउनु भयो ।


आर्थिक विषयमा कलम चलाउन रुचाउनेको लागि यो महत्वपूर्ण हुने उनको भनाई रहेको छ । विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाको राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले अर्थपत्रकारिताको विकासको लागि पुस्तक महत्पूर्ण भएको बताए । उनले अर्थ र वित्त क्षेत्रमा कलम चलाउन रुची राख्नेको लागि उपयोगी हुने बताए ।


त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरञ्जीवी खनालले अर्थका विषयमा कम जानकारी भएको कारणले पनि अझै पनि अर्थतन्त्रका विषयले सञ्चार माध्येममा कम ‘स्पेश’ पाएको भन्दै अर्थ पत्रकारिताको महत्व बढाउन पनि पुस्तक उपयोगी हुने बताएका छन्  ।  उनले यो पुस्तक पत्रकार, पत्रकारिताको विद्यार्थी, तथा अध्यताहरूको लागि सहयोगी हुने बताए ।


नेपाल आर्थिक पत्रकार समाज सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधानले अर्थ  पत्रकारितको लागि पुस्तक कोशेढुंगा हुने बताएका छन् । उनले अहिले पत्रकारिता एउटा बीटमा केन्द्रित हुदैँ गएको अवस्थामा अर्थका सबै विषयमा जानकारी गराउनको लागि पुस्तक उपयोगी हुने बताए । यो पुस्तक अर्थ बीटमा काम गर्ने पत्रकारलाई मात्रै नभइ डेक्स एडिटरका साथै सम्पादकहरुले पनि पढ्न जरूरी रहेको बताए ।


लेखक प्रेम खनालले लामो समयको प्रयासपछि यो पुस्तक निकालिएको बताउँदै आर्थिक पत्रकारितालाई सहज बनाउन सहयोग पुग्ने बताए । उनले अर्थपत्रकारको लागि ‘डाटा भिजियोलाइजेसन’ सम्वन्धी अर्को पुस्तक पनि आवश्यक पर्ने भन्दै भविष्यमा त्यस्ता पुस्तकमा पनि ध्यान दिन आग्रह गरे । सेजनका अध्यक्ष भीम गौतमले पुस्तक तयार पार्ने क्रममा हाल कायम रहेका नीतिगत, कानुनी र यसअन्तर्गतका प्रवधानलाई पुस्तक समेटिएको र आगामी दिनमा सरकारले ऐन नियम संशोधन गर्न सक्ने भएकाले पुस्तक पनि संशोधन गर्न आवश्यक हुन सक्ने बताए । सेजनले निकालेको हाते किताब संस्थागत रुपमा १ हजार रुपैयाँ र व्यक्तिगत रुपमा ५ सय रुपैयाँ तोकिएको छ ।